अमेरिकाद्वारा आफ्ना नागरिक र कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

0

एजेन्सी : अमेरिकाले युक्रेनस्थित दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश दिएको छ । युक्रेनमाथि रुसले आक्रमण गर्ने विवरणहरू आएको भन्दै उसले यस्तो आदेश दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्रेन छाड्न समेत अनुमति दिएको छ । अमेरिकी नागरिकहरूलाई युक्रेनबाट बाहिरिन विदेश मन्त्रालयले आह्वान समेत गरेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्ने चिन्ताबीच अमेरिकी विदेश मन्त्रालयको पछिल्लो आह्वान आएको हो ।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेनप्रति रुसको शत्रुतापूर्ण व्यवहारका कारण अमेरिको चाँडै नै विभिन्न खाले प्रतिबन्धहरू लगाउने बताएका थिए ।

विदेश मन्त्रालयले युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको छ ।

रुसले चाहिँ आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ । रुसले युक्रेनको सीमा नजिकै एक लाख सेना तैनाथ गरेको छ ।

अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर हातहतियार सहायता पनि युक्रेन पुगेको छ ।

Leave A Reply

Your email address will not be published.