बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतको रोक

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ ।

ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोना परीक्षण गर्नुपर्ने बाइडेनको नीति अधिकारभन्दा बाहिर रहेको अदालतले ठहर गरेको हो ।

नोभेम्बरमा यो नीति घोषणा गरिएसँगै तत्कालै यसविरुद्ध मुद्दा परेको थियो । सर्वोच्च अदालतका ९ न्यायाधीशमध्ये ६ जनाले नीतिविरुद्ध निर्णय सुनाएका हुन् ।

अदालतले सरकारी कोषबाट चलेका स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडनको नीतिलाई भने स्वीकृति दिएको छ ।

बाइडेन प्रशासनले यो नीतिले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न मद्दत गर्ने जनाउँदै आएको छ ।

राष्ट्रपति बाइडेनले जीवन बचाउने ठानेर आफूले ल्याएको नीतिलाई अदालतले अस्वीकार गर्दा आफू निराश भएको बताएका छन् ।

सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने नीतिलाई अदालतले स्वीकृति दिन गरेको निर्णयको उनले स्वागत गरेका छन् ।

पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशप्रति खुसी व्यक्त गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई थप क्षति पुर्‍याउने बताएका छन् ।

ओमिक्रोनका कारण अमेरिकामा महामारीको नयाँ लहर देखिरहेको बेला अदालतको यो निर्णय आएको हो ।

Leave A Reply

Your email address will not be published.