नारायणहिटीमा रेस्टुरेन्टबारे छानविन गर्न समिति गठन

0

काठमाडौं : नारायणहिटी दरबार संग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माणका लागि दिइएको ठेक्काका सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले संग्रहालयभित्र निर्माण हुँदै गरेको रेस्टुरेन्टलाई लिएर उत्पन्न विवाद तथा त्यसको ठेक्का प्रक्रियाको वास्तविकता अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित समिति बनाएका हुन् ।

मन्त्रीस्तरीय निर्णयबाट उनले बिहीबार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

मन्त्री आलेले तीन दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएका छन् । समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

के थियो घटना ?

संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि २०७७ साल पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहअन्तर्गतको बी म्यानेजमेन्टसँग तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए ।

यससम्बन्धी खबर सार्वजनिक भएपछि मन्त्रालयले मंगलबार तत्कालका लागि निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।

राजतन्त्र अन्त्यसँगै संग्रहालयमा परिणत भएको नारायणहिटी दरबार परिसरभित्र निजी कम्पनी बतास समुहले रेष्टुरेण्ट संचालन गर्न भन्दै संरचना निर्माण गर्दै थियो । गैरकानुनी रुपमा धमाधम संरचना निर्माण भइरहेको खबर सार्वजनिक भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निर्माण रोक्न निर्देशन दिए । मन्त्री आलेको निर्देशन पछि नारायणहिटी संग्रालयले अर्को आदेश नभएसम्म तत्काल निर्माण रोक्न पत्र मार्फत जानकारी गराएको छ ।

सस्तो भाडादरमा जग्गा हात पारेपछि दरबार संग्रहालय भित्र बतास समूहले रेस्टुरेन्टका लागि गैरकानूनी ढंगले संरचना निर्माण गरिरहेको थियो । बतासले यसअघि नै संग्रहालय परिसरमा बनिसकेको भवन सिंगार्नेदेखि बगैँचा निर्माणको काम गरिरहेको थियो । बतास अर्गनाइजेसनले संरचनामा निर्माणका लगि महानगरपालिकासँगसमेत अनुमति नलिएको पाइएको छ ।

संग्रहालयमा आउनेहरूका लागि सुविधा दिने बहानामा बतास समूहले नारायणहिटी परिसरमा रेस्टुरेन्ट खोल्ने अनुमति पाएको थियो । तर समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल भने संरचनाहरु अस्थायी भएको तर्क गर्छन् ।

समितिका कार्यकारी निर्देशक दाहाल संग्रहालयलाई खर्च जुटाउन दरबार क्षेत्र भाडामा लगाउनु परेको बताउँछन् । दाहालका अनुसार रेस्टुरेन्ट सञ्चालनमा आएपछि त्यहाँ जानेसँग समितिले कुनै शुल्क उठाउने छैन ।अर्थात् रेस्टुरेन्टमा जान संग्राहलयको टिकट काट्नुपर्ने छैन । रेस्टुरेन्टमा लाइभ म्युजिक सुन्ने सुविधा पनि हुनेछ । रेस्टुरेन्ट चलेपछि दरबारभित्र पार्किङ पनि खुल्नेछ ।

नेपालको ऐतिहासिक सम्पदा नारायणहिटी दरबार परिसरभित्र निजी कम्पनीको स्वार्थ पूरा गर्नु संग्रालयको अस्तित्व नै संकटमा पार्ने खेल हुनसक्ने कतिपयको बुझाइ छ ।

Leave A Reply

Your email address will not be published.