राष्ट्रियसभा निर्वाचन : मनोनयनपत्र र उजुरीमाथि आज र भोलि जाँचबुझ

0

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार र शुक्रबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । बुधबार दाबी विरोध र उजुरी दिन सकिने कार्यतालिका थियो ।

शुक्रबार साँझ उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।

आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदै छ ।

Leave A Reply

Your email address will not be published.