राष्ट्रियसभा सदस्य निर्वाचन : दुई हजार २५ मतदाता कायम

0

काठमाडौं : राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो ।

मतदाताको नामावली आयोगको वेबसाइटबाट प्रकाशन भइसकेको छ । शनिबार मतदाता नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि आह्वान गरिएको थियो ।

आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिसकेको छ ।

आयोगले दिएको जानकारीअनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कर्णालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता रहेका छन् ।

सत्तारूढ गठबन्धनले रिक्त १९ राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेर उम्मेदवार तय गर्ने तयारी गरेका छन् । यसका लागि गठबन्धनले पार्टीहरूका शीर्ष नेताहरू रहेको समन्वय समिति पनि गठन गरेको थियो ।

दलहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशहरूबाट उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा पठाएको छ ।

राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि यही माघ १२ गते निर्वाचन हुँदै छ । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

Leave A Reply

Your email address will not be published.