सहमतिमै पदाधिकारी र सदस्य घोषणा गर्ने माओवादी केन्द्रको प्रयास

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ ।

यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेको छ भने निर्वाचन कार्यतालिकासमेत संशोधन गरेको छ ।

शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ बजे सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।

केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् ।

केन्द्रीय कमिटीमा सहमति जुटेपछि माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ ।

यदि सहभति जुट्न नसके निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी रहेको छ । निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म उम्मेद्वारको मनोनयन हुने छ ।

यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची पौने चार बजे प्रकाशित हुनेछ । निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन पौने पाँच बजे हुनेछ ।

यस्तै साँझ साढे छ बजेदेखि राति साढे १० बजेसम्म मतदान हुनेछ ।

नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ ।

त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसमा खुलातर्फ १४५ जना हुने छन् भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १५४ जना निर्वाचित हुनेछन् ।

Leave A Reply

Your email address will not be published.