बालबालिकालाई मोडर्ना खोप दिन शुरु

0

काठमाडौं : सरकारले आइतबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिन शुरु गरेको छ । १२ देखि १७ वर्षका बालबालिकालाई लक्षित गरी आइतबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालयमै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरे । 

हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त विद्यालय मन्त्री खतिवडा आफैँले अध्ययन गरेको विद्यालय हो । स्वास्थ्य मन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि नेपाली बञ्चित हुनुनपर्ने बताउनुभएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम विडारीले जानकारी दिए ।

उनले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने बताए । अधिकांश जिल्लाबाट खोपको व्यवस्था मिलाइएकाले स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गरेको जनाइएको छ ।

सातवटै प्रदेशका ५७ जिल्लामा बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप लगाइने छ । 

तीन प्रदेशका आठ जिल्लामा भने यही पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान चलाइने भएको छ । ती आठ जिल्लामा वागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी छ जिल्ला तथा सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ । 

मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र आगामी माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

विद्यालयलाई खोप केन्द्र बनाउने सन्दर्भमा भने जिल्लास्तरीय प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार प्रमुख रहेको समितिले निर्धारण गरेको छ । 

धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई/तीन विद्यालय मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइने तय गरिएको हो । 

Leave A Reply

Your email address will not be published.