सर्वदलीय बैठक : एमसीसीबारे गठबन्धन दलहरुबीच नै फरक मत, जुटेन सहमति

0

काठमाडौं : संसदको अवरोध हटाउन र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेबाहेकका दलहरुको बैठकमा सत्तारुढ दलहरुभित्रै फरक मत आएपछि संसदको अवरोध हटाउने र एमसीसीबारे दलहरुबीच साझा धारणा तय हुन नसकेको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले समेत एमसीसी संशोधन बिना अगाडि बनाउन नसक्ने धारणा राखेपछि बैठक विना निष्कर्ष सकिएको नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले जानकारी दिए । 

उनले जनमोर्चा र राप्रपाले पनि एमसीसी अगाडि बढाउने अवस्थामा नरहेको धारणा राख्नु भएको बताए । नेता सुवालले एमसीसीका विभिन्न बूँदा नेपालको स्वतन्त्रतामाथि नै धावा बोल्ने खालको भएको हुनाले त्यसलाई खारेज गर्नुपर्ने पार्टीको अडान आफूले बैठकमा राखेको पनि स्पष्ट पारे ।  

त्यसैगरी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे बैठकमा गहन छलफल भएको र त्यसबारे थप छलफल गरेर अघि बढने सहमति बैठकमा गरिएको बताए ।

बैठकले सत्तारुढ दलहरुले संवादको माध्यामबाट प्रतिपक्षले उठाएको विषय सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.