कांग्रेस महाधिवेशन : प्रतिस्पर्धामा रहेका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदै

0

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिस्पर्धामा रहेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशित हुँदैछ । 

बिहान एघार बजेसम्म उम्मेदवारलाई नाम फिर्ताको समय दिइएकाले त्यसपछि अन्तिम नामावली प्रकाशन हुने भएको हो । 

महाधिवेशनमा १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी परेको छ। कांग्रेस सभापतिमै ६ जनाको उम्मेदवारी परेको छ। 

वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह र शेखर कोइरालासँगै कल्याण गुरुङ र युवराज न्यौपाने सभापतिमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले आइतबार मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ। 

महाधिवेशनअन्तर्गत मतदान भने सोमबार बिहान आठ बजेदेखि हुनेछ । मतदानको लागि राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा मतदानस्थल तोकिएको छ । 

विद्युतीय माध्यमबाट मतदान गर्नुपर्ने आवाज उठे पनि कांग्रेसले मतपत्रमार्फत मतदान गर्ने निर्णय गरेको छ । 

उम्मेदवार संख्याअनुसार मतपत्रको आकार र रङ छुट्टाछुट्टै हुने बताएको निर्वाचन समितिका अनुसार एकजनालाई मतदान गर्न आधा घन्टाभन्दा बढी समय लाग्नेछ । 

महाधिवेशनमा कांग्रेसका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । 

कांग्रेस विधानअनुसार सभापतिका उम्मेदवारले जीतका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके दोस्रो चरणमा निर्वाचन हुनेछ ।

Leave A Reply

Your email address will not be published.