कांग्रेस महाधिवेशन : १३४ पदका लागि ५४८ जनाको उम्मेद्वारी

0

काठमाडौं : कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि १ सय ३४ पदमा हुन लागेको निर्वाचनका लागि ५ सय ४८ जनाको उम्मेद्वारी परेको छ ।

१३ पदाधिकारीमा ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ । शनिबार बिहान ११ बजे साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १ सय ३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । उपसभापतिको दुई पदका लागि छ जनाको उम्मेद्वारी परेको छ भने महामन्त्रीको दुई पदका लागि छ जनाको उम्मेद्वारी परेको छ ।

आठ सहमहामन्त्रीमा २० जनाको उम्मेद्वारी परेको छ । त्यस्तै थारुतर्फको केन्द्रीय सदस्यका लागि १४ जना, मधेसीका लागि ३२ जना, आदिवासी जनजातिका लागि ८७ जना, खसआर्यका लागि ९३, दलितका लागि ३९ जनाको उम्मेद्वारी परेको छ ।

त्यस्तै महिला केन्द्रीय सदस्यका लागि ३१ जना, पिछडिएको क्षेत्रबाट २ जना, अपांगका लागि १६ जना, अल्पसंख्यक केन्द्रीय सदस्यमा ६ जना, मुस्लिमका लागि १६ जना, प्रदेश १ का लागि १३ को उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै प्रदेश २ बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि ५ जना, बागमतीबाट ९ जना, गण्डकीबाट ७ जना, लुम्बिनीबाट ११ जना, कर्णाली प्रदेशबाट ७ जना, सुदूरपश्चिमबाट १२ जनाको उम्मेद्वारी परेको छ।

प्रदेशबाट कम्तिमा एक जना महिलासहित तीनजना निर्वाचित हुने व्यवस्था छ । त्यस्तै ३५ पदका लागि हुने खुला केन्द्रीय सदस्यमा १०९ जनाको उम्मेद्वारी परेको छ । खुला केन्द्रीय सदस्यमा अधिकांश पुराना र स्थापित नेताले उम्मेद्वारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.