कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

0

काठमाडौं : नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन् ।

ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए । अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए । पदाधिकारीमा संस्थापन पक्षको प्यानलकै जित भएको छ ।

कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिमा वरिष्ठ नेता पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित भएका छन् । संस्थापन समूहका उपसभापतिबाहेक पौडेल समूहको प्यानल नै विजयी भएको छ ।

संस्थापनका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका पाका नेता शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा नाम लेखाउन सफल भएका छन् । संस्थापनका जोशीले ५ सय २८ मत ल्याउँदा शर्माले ६ सय १२ मत ल्याउँदै विजयी भएका हुन् । १ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो ।

यस्तै कांग्रेसको वागमती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार भएको मतदानमा कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा सभापति पदका उमेदवार इन्द्र बानियाँले ९ सय ९२ मत ल्याए । यस्तै जगदीश्वरनरसिंह केसीले ८ सय ७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए । शनिबार हेटौँडामा भएको मतदानमा कुल २ हजार १ सय ५१ मध्ये २ हजार ८३ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.