राप्रपा महाधिवेशन : क-कसले गराए मनोनयन दर्ता ?

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् ।

शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले पार्टीको एकता कायम राख्न, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न आफु उम्मेदवार बनेको बताए ।

अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्वाकांक्षा र पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको दाबी गरे । लिङदेनले नेतृत्व परिवर्तन पार्टीका लागि बाध्यकारी र प्रस्थानबिन्दु हुने भन्दै आफुले जिते राजावादी र हिन्दुराष्ट्रवादीहरुलाई एकत्रित गर्ने बताए ।

अध्यक्षमा थापा र लिङदेन गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लिलादेवी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ ।

Leave A Reply

Your email address will not be published.