माओवादी स्थायी समिति बैठक : राष्ट्रिय सम्मेलनको तयारीका लागि उपसमिति गठन

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचारप्रसार, स्वयम्सेवक तथा स्वास्थ्य उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

नेता हितमान शाक्यको नेतृत्वमा सम्मेलन व्यवस्थापन उपसमिति र प्रवक्ता महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । बैठकले स्वयंसेवक र स्वास्थ्य उपसमिति पनि बनाउने निर्णय गरेको छ । 

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । “यो राष्ट्रिय सम्मेलन हो, महाधिवेशन होइन, हामीले उद्घाटन गर्छौं, आमसभा हुँदैन, यसले पार्टीको आगामी कार्यदिशा तय गर्छ”, उनले भने ।

बैठकले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोटका लागि प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । हरेक प्रदेशबाट ३० र पार्टी सदस्यताका आधारमा थप प्रतिनिधिको टुङ्गो लगाउने पनि निर्णय गरेको छ ।

जनयुद्धका घाइते र अपाङ्गता भएकाबाट पनि सम्मेलनका लागि प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए । प्रत्येक प्रदेशबाट कम्तीमा एक घाइते तथा अपाङ्गता भएका प्रतिनिधि समावेश हुनेछन् । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको शुल्क प्रतिव्यक्ति रु दुई हजार तोकिएको छ ।

बैठकले पार्टी विधानमा केही विषय संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दै विधान संशोधनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको उनले जानकारी दिए । सो उपसमितिमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहेका छन् ।

उपसमितिले विधान परिमार्जनको विषयलाई यही मङ्सिर २५ गतेसम्मे टुङ्गो लगाइसक्ने उनले जानकारी दिए । बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । अधिकांश स्थानीय तहमा अधिवेशन सम्पन्न भएको र पालिकामा अधिवेशन सम्पन्न हुने क्रममा रहेको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.