तत्काल कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनको सुझाव

0

काठमाडौं : सत्तारुढ गठबन्धनले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमित भएपछि सोमबारदेखि अस्पताल भर्ना भएका छन् । बुधबार सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाद्वारा तोकिएपछि प्रधानन्यायाधीशले कामु नतोकेकै कारण मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबराले कायममुकायम तोक्नुपर्ने भन्दै कानुन व्यवसायीले समेत विरोध गर्दै आएका छन ।

नेपाल बार एसोसियनले समेत वरिष्ठ न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन माग गरेको छ । संबिधानमा प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेमा वा नेपाल बाहिर गएका कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.