मेरो डेढ वर्षको छोराको के दोष थियो ?

0

मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ? टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यसरी नै प्रश्न गरिरहनुहुन्छ । गहभरि आँसु निकाल्दै उहाँले माग गर्नुभयो – समाज र संसारका बारेमा अनभिज्ञ रहेको मेरो छोराको हत्यारालाई फाँसीको सजाय हुनुपर्छ र छोरालाई सहिद घोषणा गर्नुपर्छ ।
टीकापुरमा डेढ वर्षीय बालक र आठ प्रहरीको निर्ममतापूर्वक हत्या भएको घटनाप्रति यतिबेला स्थानीयवासी आक्रोशित पनि छन्, चिन्तित पनि देखिएका छन् । दिउँसो भएको घटनामा डेढ वर्षीय बालक टेकबहादुरको प्रदर्शनकारीले चलाएको गोली लागेर मृत्यु भएको प्रत्यक्षदर्शी मनसरा भण्डारीले बताउनुभयो । “विगतको सङ्कटकालमा समेत यस्तो घटना देखेनौँ, त्यतिबेला पुलिस लडाईंमा मर्दा पनि यो ढङ्गले मारिएको सुनेनौँ” – भण्डारीले बताउनुभयो ।
प्रहरीसँग लडाईं भइसकेको एक घन्टापछि बाहिर आँगनमा छरछिमेकका बच्चाहरुसँगै खेल्दै गरेको अवस्थामा बालकको टाउकोमा गोली लागेको बालककी फूपू दुर्गा कठायतले जानकारी दिनुभयो । “नारा लगाउँदै आएको भीडले चलाएको गोली सिधै टाउकोको पछाडिको भागमा लागेर बालक भुइँमै ढल्यो” – कठायतले भन्नुभयो ।
घरदेखि झन्डै सातसय मिटर दक्षिणतर्फ रहेको पशुहाट बजार चोकमा सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई घेरा हालेर आक्रमण गरिसकेपछि आत्मसुरक्षाका लागि लखतरान् हुँदै बालकको घर नजिकको खेतबारीमा बाँचेका प्रहरीहरु पुगेका थिए । त्यसैबेला घरको अर्को दिशाबाट थरुहट प्रदर्शनकारीहरुको भीड पनि आइपुगेको थियो । सहकर्मीकै घर भनेर आएका प्रहरीले पानी मागेपछि घरको झ्याल खोलेर दुई-तीन पानीका बोतल उनीहरु भएतिरको खेतमा फ्याँकिदिएको बालककी आमा साउदले बताउनुभयो । दुश्मनले पनि पानी मागेपछि दिनुपर्छ भन्ने मान्यता रहेको अवस्थामा प्रहरीलाई पानी दिएकै निहँमा प्रदर्शनकारीहरुले आफ्नो घरतर्फ गोली चलाएको आशङ्का उहाँको छ ।
मृतक बालकका बुबा घरदेखि करिब दुई किलोमिटर टाढा टीकापुरमै रहेका सशस्त्र प्रहरी बलको उग्रतारा गणका प्रहरी हवल्दार हुनुहुन्छ । घटना सुनेपछि घर आएका बालकका बुबा नेत्र साउद छोरा मारिएपछि अहिले कार्यालय जानुभएको छैन ।
साउदको परिवार घटनापछि विस्थापित भएर अहिले टीकापुर बजारमा रहेको एक होटेलमा भाडामा बसिरहेको छ । छोराको हत्यापछि मन थाम्न नसकेर यशोदा साउद बेहोस हुनुभएको थियो । घटनाको चार दिनपछि मात्रै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका सरकारी सुरक्षा अधिकारीले भेटेपछि आफ्नो आत्मामा थोरै शान्ति मिलेको अनुभव उहाँले सुनाउनुभयो । अर्यालसहितका सुरक्षा अधिकारीहरुले बिहीबार पीडित साउदको परिवारलाई भेटेर समवेदना दिएका थिए ।
यसअघि प्रदर्शनकारीहरुले गरेको आक्रमणबाट स्थानीय पशु हाटबजार चोकमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीहरुको मृत्यु भइसकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन सम्झाइबुझाई गरिरहेकै अवस्थामा भएको आक्रमणबाट न्यौपानेसहितका प्रहरीको ज्यान गएको थियो ।
थरुहटका प्रदर्शनकारीले त्यो दिन टीकापुरको पशुहाट बजार क्षेत्र रणभूमि नै बनाएको स्थानीयवासीले बताएका छन् । “एकसाथ आक्रमण भएपछि न्यौपाने आत्मरक्षाका लागि स्थानीय सीता बर्माको घरको कोठामा लुक्ने प्रयास गर्दै हुनुहुन्थ्यो” – स्थानीयले डराई डराई नाम नभन्ने सर्तमा भने –ढोकाको चुकुल लगाउन नपाउँदै भित्रबाट तानेर भाला, लाठी इँटाले उहाँलाई मारियो । उनीहरुले दुईजना प्रहरी निरीक्षकलाई घर नजिकैको धान रोपेको खेतमा लगेर आक्रमण गरिरहँदा अन्य प्रहरीलाई घर बाहिरको चौरमा कुटपिट र आगो लगाएर हत्या भएको घटना विवरण पनि सुनाए ।
आ–आफ्नो प्रदेश माग्ने नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको घटनामा परी टीकापुरमा आठ प्रहरीसहित एक नाबालक मारिएको घटनाको त्रास यहाँ अझै सेलाउन सकेको छैन । घटनापछि सबै उमेरका सर्वसाधारणमा सन्त्रास फैलिएको छ । विद्यालय पढ्ने उमेरका बालबालिकामा यो घटनाले नराम्रो असर पारेको देखिन्छ ।
घटनापछि उत्पन्न वातावरणले बालबालिकामा मनोवैज्ञानिक त्रास फैलिएकाले अवस्था सहजीकरण गर्नु आवश्यक भइसकेको स्थानीय शिक्षक हेमराज तिमिल्सेना बताउनुहुन्छ । लगातार १९ दिनदेखिको बन्द र त्यसपछि भएको यो घटनाबाट स्थानीय जनजीवन निकै कष्टकर बनेको छ ।
घटनापछि कुनै तोडफोड, हिंसा हुन नपाई शान्ति सुरक्षाको अवस्थामा सुधार आएपनि जनजीवन भने सामान्य अवस्थामा फर्किन सकेको छैन । लगातारको बन्दसँगै भएको घटनाकै दिनदेखि जारी गरिएको निषेधाज्ञा (कफ्र्यु) यथावत् छ । सर्वसाधारण घटनापछि त्रासमा बाँचिरहेका मात्र नभई बजार क्षेत्रमा यतिबेला साग, तरकारी, दाल, चामल पिठो, दूधलगायतको दैनिक उपभोग्य सामग्रीको चरम अभाव देखिएको छ ।
घटनाको दोस्रो दिन नै सरकारले शान्ति सुरक्षाको व्यवस्थापन गर्न नसकेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसहित सुदूरपश्चिम क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकहरुको हेरफेर गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारीमा मोहनबहादुर चापागाईंलाई पठाइएको छ ।
एकै देशका नागरिकबीचको यस्तो द्वन्द्वको अन्त्यका लागि निर्वाचनमार्फत चुनिएर गएका सभासद्, राजनीतिक दलका नेताहरु, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार सबैको संयुक्त प्रयासको आवश्यकता टड्कारो रुपमा देखिएको स्थानीयवासीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.