अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फ़र्हराउदै दोश्रो पटक पुरा गरे लिस्बन म्याराथुन !

0

भगवान गिरी, लिज्बन, ७, मङ्सिर ।

अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर दोश्रो पटक लिस्बन म्याराथुन पुरा गरेका छन् । पोर्चुगलमा भएको लिस्बन म्याराथन मिनी च्याम्पेनमा ९ वर्षे युरेशले दौड पूरा गर्न सफल भएका हुन् ।

म्याराथन क्लब पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा भएको “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” मा युरेश पाण्डेयले आफ्ना ७ बर्षीय भाई युरेकको साथमा २ किमी दौड पूरा गर्न सफल भएका हुन् ।

बेलायतमा जन्मिएका युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेय बताउछन्। बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दोश्रो पटक दौड पूरा गर्दा आफू निकै उत्साहित भएको पाण्डेयले बताए । युरेश र युरेक दुबै दाजुभाइ नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए ।

६ देखि १४ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरु बीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो । लिस्बन मिनी म्याराथुनमा युरेशकै सात बर्षीय भाई युरेक र ६ बर्षीय सजक भट्टराई सहित ३ जना नेपाली रहेको आयोजकहरुले जनाएका छन्।

बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि पोर्चुगल म्याराथुन क्लबले हरेक बर्ष बालबालिकाहरुका बिच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । युरेश सन् २०१९ देखि म्याराथुनमा दौडिदै आएका छन्। कोरोनाक कारण स्थगित भएको २०२० को म्याराथुन उनले भर्चुअल दौडमार्फत पुरा गरेका थिए।

युरेशले आगामी बर्ष सन् २०२२ को म्याराथुन दौडमा सहभागी हुन लागि समेत आफ्नो नाम लेखाइसकेका छन्। युरेश बोल्न सक्दैनन् तर उनि अंग्रेजी, नेपाली र पोर्तुगिज भाषा बुझ्दछन। पौडी र घोडा दौड उनको रुचिको खेल हो। उनले यस अगाडी पौडीमा समेत मेडल जितिसकेका छन्। युरेश अहिले कक्षा ४ मा अध्ययनरत छन्।

अटिजम भएका बालबालिकाहरुलाई समेत अतिरिक्त क्रियाकलापमा सहभागी गराउदा उनीहरुमा आत्मविश्वास बढ्ने र बौद्धिक बिकासमा निकै सहयोग पुग्ने युरेशका अभिभावक बताउछन्। आफ्नो जेठो छोरामा अटिजमको लक्षण देखापरेपछि शुरुका केही बर्ष निकै निरास भएर रुदै बितेतापनि युरेशमा देखिएका क्रमिक सुधारले उनीहरु उत्साहित भएका छन्।

Leave A Reply

Your email address will not be published.