नेपाल सरकार विरुद्ध मुद्दा नगर्न अध्यक्ष पन्तलाई पत्र

0

काठमाडौँ ,

गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले कामचलाउ अध्यक्ष कुमार पन्तलाई पत्र लेख्दै नेपाल सरकार विरुद्ध मुद्दा मामिला नगर्न आग्रह गरेका छन्। २०१९-२१ को अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) का सहकोषाध्यक्ष लोक दाहालले पन्तलाई एक पत्र पठाई संघ अहिले इतिहासकै कठिन मोडबाट गुज्री रहेको बताए।

“आफ्नो स्थापनाकाल देखि नै संघले नेपाल सरकारसंग निकट रहेर काम गर्दै आएको छ। गैरआवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षा जस्ता विषय नेपाल सरकार तथा सबै प्रमुख दलहरुसंग मिलेर सम्बोधन गर्नु पर्ने छ। त्यसैले सरकार विरुद्ध अदालत जानु भन्दा छलफल र संवादद्वारा समस्याको समाधान गर्न म अनुरोध गर्दछु,” दाहालले भने। २०२१-२३ कार्यकालका लागि कोषाध्यक्ष पदका उम्मेदवार दाहालले संस्था र लाखौं प्रवासी नेपालीको हितलाई मद्देनजर गरी काम गर्न पनि आग्रह गरेका छन् ।

त्यस्तै संघका सचिव आर के शर्माले पनि अहिले संघ भित्र उत्पन्न विषम परिस्थितिमा अदालतमा गएर दूरी बढाउन नहुने बताए। “अदालतले जस्तो सुकै फैसला सुनाए पनि हाम्रो मनभेद बढ्दै जानेछ। अदालत समाधान होइन। कमी कमजोरी भगवानका पनि हुन्छन, त्यसैले सुधार गर्दै जानु प-यो,” शर्माले भने। २०२१-२३ कार्यकालका लागि उपाध्यक्ष पदका उम्मेदवार शर्माले संस्थालाई मुद्दामामिला तर्फ लगेर थप ध्रुवीकरण गर्नु उचित नहुने बताए। “उत्तर कोरिया र अमेरिका त वार्तामा बस्न सक्छन भने हामी त एउटै परिवारका सदस्य हौँ। त्यसैले हाम्रा समस्या ‘टेबल टक’ बाटै सुल्झाउनु पर्छ।

‘मुद्दामामिला गर्न अध्यक्षलाई म्यान्डेट छैन’

यसैगरी गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले परराष्ट्र मन्त्रालयको निर्देशन विरुद्ध अदालत जानेबारे संघमा कुनै पनि निर्णय नभएको र अध्यक्ष कुमार पन्तलाई त्यस्तो म्यान्डेट पनि नरहेको जनाएका छन्। “व्यक्तिगतरुपमा जो पनि अदालत जान सक्छ, त्यो व्यक्तिको हकको कुरा हो।

तर लाखौं एनआरएनहरुले बुझाएको सदस्यता शुल्क खर्च गरेर नेपाल सरकार विरुद्ध मुद्दा मामिला गर्नु संस्थाको हितमा छैन,” २०२१ -२३ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले भने। “त्यस्तो कदम विरुद्ध आवश्यक परे हामी अदालतमै उपस्थित हुने छौं। ” संघका संरक्षकहरु, सल्लाहकारहरु तथा बहुसंख्यक पदाधिकारीहरुले पनि संघ नेपाल सरकारमा दर्ता भएको र सरकारसंग नजिक रहेर काम गर्नु पर्ने संस्था भएकाले नेपाल सरकार विरुद्ध मुद्दा मामिला गर्ने जस्तो काम नगर्न सुझाव दिएका छन्।

Leave A Reply

Your email address will not be published.