डिला सङ्ग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण

0

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला सङ्ग्रौलाले  लेखेको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण गरेका छन्।

नजिकिइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन लक्षित पुस्तकमा नेपाली कांग्रेसले आगामी दिनमा कस्ता रणनीति अपनाउनुपर्छ? भन्ने सन्दर्भमा विभिन्न ८ खण्डमा बहस गरिएको छ।

बुधबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गर्दै कांग्रेस सभापितसमेत रहेका देउवाले उक्त पुस्तक पार्टीका आम नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताए।

‘यो पुस्तक महाधिवेशनमा कांग्रेस र यसलाई बुझ्न चाहने नयाँ पुस्तका कार्यकर्ताहरूका लागि प्रेरणा बन्नसक्छ,’ उनले भने।

सभापति देउवाले डा. सङ्ग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तक पार्टी भित्र र बाहिरका पाठकका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे।

पुस्तककी  लेखिका डा. सङ्ग्रौलाले १४औँ महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताइन्। ‘पार्टी रुपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु’, उनले भनिन्।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले कांग्रेसका लागि आगामी बाटो चुनौतीपूर्ण रहेको भन्दै नेतृत्वले ती चुनौती चिर्दै अगाडि बढ्नुपर्ने बताए। कांग्रेस बलियो बने मुलुकको विकास हुने उनको भनाइ थियो।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा उद्धव खरेलले पुस्तकमार्फत इतिहासको जगमा भविष्यको कांग्रेस खोजी गरिएको बताए। ‘पुस्तकमा बिपीको चिन्तनअनुसार कांग्रेसको धरातल प्रस्तुत गरिएको छ’, उनले भने, ‘कांग्रेस जान्न र बुझ्न खोज्नेहरुका लागि पुस्तक उपयोगी हुनेछ।’

१३९ पृष्ठको उक्त पुस्तकमा नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धिहरु, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अग्रजका अमूल्य योगदान र १४औँ महाधिवेशनका एजेन्डाहरु प्रस्तुत गरिएको छ।

Leave A Reply

Your email address will not be published.