शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे विचार गर्दैछौं : बाइडेन

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे सोच विचार गरिरहेको बताएका छन् ।

मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि पत्रकारहरुसँग कुरा गर्दै उनले बहिस्कारको निर्णयबारे आफूहरूले विचार गरिरहेको जानकारी दिएका हुन् ।

अमेरिका र चीनबीच व्यापार, मानवअधिकार र हङकङ तथा ताइवान मामिलालाई लिएर तनाव बढिरहेको बेला बाइडेनको पछिल्लो भनाइ आएको हो ।

पाँच वर्षपछि भएको पहिलो उत्तर अमेरिकी सम्मेलनमा मेक्सिको र क्यानडाका नेताहरू वासिङ्टनमा भेला भएका बेला बाइडेनको सो भनाइ बाहिर आएको हो ।

सोमबार बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग भर्चुअल कुराकानी गरेका थिए । तीन घण्टा लामो सो बैठकमा अमेरिका र चीनका नेताहरूले ओलिम्पिक्सबारे कुराकानी नगरेको ह्वाइटहाउसले जनाएको छ ।

चीनमा मानवअधिकार हनन भएको भन्दै डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका सांसदहरूले चीनसँग कूटनीतिक बहिष्कार गर्नुपर्ने बताइरहेका छन् ।

कूटनीतिक बहिष्कार भएमा कुनै पनि अमेरिकी अधिकारीहरू सो खेल समारोहमा भाग लिन जाने छैन । त्यस्तो बहिष्कारले खेलाडीहरूलाई भने असर नगर्ने बताइएको छ ।

ओलम्पिकमा अमेरिकाको कस्तो उपस्थिति हुन्छ भन्नेबारे अझै टुङ्गो लाग्न बाँकी छ । शीतकालीन ओलम्पिक्स फेब्रुअरी चारवाट बेइजिङमा शुरु हुँदैछ ।

Leave A Reply

Your email address will not be published.