विप्लव नेकपाले गरेको नेपाल बन्दको देशभर आंशिक प्रभाव

0

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको देशभर आंशिक प्रभाव परेको छ । मूल्यवृद्धिको विरोधमा चन्द नेकपाले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् ।

सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।

विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् ।

काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अन्य दिनको तुलनामा कमैमात्र चलेका छन् । काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।

महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्काे मूल्यवृद्धिले सर्वसाधारण मारमा परेकाले बन्द गर्नुपरेको चन्द नेकपाले जनाएको छ ।

बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पताल, कानुन व्यवसायी, कूटनीतिक नियोग, दुध बोक्ने, पानी बोक्ने र फोहोर बोक्ने गाडीलाई भने अवरोध नगरिने सो पार्टीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.