युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने बेलारुसको धम्की

0

एजेन्सी : बेलारुसले आफूविरुद्ध थप नाकाबन्दी लगाए युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ ।

बेलारुस हुँदै युरोपमा आप्रवासीहरुको ओइरो लाग्ने आशंका बढिरहेको बेला राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले यस्तो धम्की दिएका हुन् ।

युरोपेली युनियनले विभिन्न देशबाट बेलारुस पुगेका आप्रवासीहरुलाई बेलारुसले पोल्याण्ड, लिथुआनिया र लाट्भियातिर जान प्रोत्साहित गरेको आरोप लगाउदै आएको छ ।

आरोपका बीच राष्ट्रपति लुकासेन्कोले आफूहरुमाथि थप नाकाबन्दी भए त्यसको जवाफ दिने बताएका हुन् ।

युरोपेली देशहरुमा प्राकृतिक ग्यासको आपूर्ति मूख्यगरी रुस र उसका छिमेकी देशहरुबाट हुने गरेको छ । रुस हुँदै युरोप पुग्ने ग्यासलाइनको बाटो बेलारुसमा छ । सोही आपूर्ति रोक्ने धम्की राष्ट्रपति लुकासेन्कोले दिएका हुन् ।

बेलारुसको धम्कीपछि युरोपमा ग्यासको आपूर्तिमा संकट आउन सक्ने र मूल्य चर्किने आशंका गरिएको छ । इयु भने लुकासेन्कोको धम्कीबाट नतर्सिन भनेको छ । इयुले आगामी सोमबारसम्ममा बेलारुस विरुद्ध थप नाकाबन्दी घोषणा गर्ने संभावना रहेको छ ।

आप्रवासीहरु बोकेका विमानहरुलाई बेलारुस जानबाट रोक्न आकाश मार्ग नदिने तयारी इयुको छ । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोप प्रवेश गर्ने आशामा बसिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.