नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

0

काठमाडौं : नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

पार्टी सदस्यबाट लेभी उठाउने निर्णय भएको महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले पाण्डेले बताए । उनले एक जना सदस्यबाट १०० रूपैयाँ उठाउने निर्णय भएको जानकारी दिए ।

एमालेको सदस्य संख्या सात लाख छ । यसबाट सात करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ । महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार रूपैयाँ उठाइने पाण्डेले जानकारी दिए ।

लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ । पाण्डेका अनुसार उनीहरुबाट के कति उठाउने भन्ने टुंगे लागिसकेको छैन । अन्यको लेभी उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए ।

‍महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने छ । मतदानका लागि १०० वटा विद्युतीय उपकरण राखिने जनाइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ । उक्त अवसरमा देशभरबाट पाँच लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ । बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ । सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताए ।

Leave A Reply

Your email address will not be published.