इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला, प्रधानमन्त्री मुस्तफा भने सुरक्षित

0

एजेन्सी : इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन आक्रमणबाट बच्न सफल भएका छन् ।

राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण गरिएको थियो । प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्देश्यले आक्रमण गराइएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कादिमीले आफू सुरक्षित रहेको जानकारी दिएका छन् । ड्रोन आक्रमणबाट प्रधानमन्त्री घाइते भएको र उनलाई अस्पताल लगिएको विवरण सार्वजनिक भएपछि उनले आफु सुरक्षित रहेको जानकारी दिएका हुन् ।

उनले इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न पनि आग्रह गरेका छन् ।

सरकारी कार्यालयहरु र विदेशी दूतावासहरु समेत रहेको क्षेत्रमा गराइएको आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन ।

केही हतियारधारी समूहले गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर विरोध गर्दै आइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.