युरोप पुनः कोभिड महामारीको केन्द्रमा रहेको डब्लुएचओको चेतावनी

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महाद्वीपभरी कोरोना भाइरस संक्रमण बढिरहेकाले यूरोप फेरि महामारीको केन्द्रमा रहेको चेतावनी दिएको छ ।

डब्लुएचओले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताएको छ । खोप पर्याप्त मात्रामा नलगाइँदा संक्रमितको संख्या बढ्दै गएको डब्लुएचओको ठहर छ ।

हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको थियो । स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमशः ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन् । पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको संख्या अझै कम रहेको छ । सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।

संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि संक्रमण बढेको डब्लुएचओले बताएको छ ।

युरोपेली क्षेत्रमा मध्यएसियाका केही भागसहित ५३ देश समेटिन्छन् । डब्ल्यूएचओले अहिलेसम्म उक्त क्षेत्रमा १४ लाख मानिसको मृत्यु भइसकेको पुष्टि गरेको छ ।

खोप र सामाग्रीको उपलब्धताका बावजुद विगत चार सातामा युरोपभरि संक्रमित ५५ प्रतिशतले बढेको डब्लुएचओको तथ्यांक छ ।

Leave A Reply

Your email address will not be published.