प्रधानमन्त्री देउवाले आज जलवायु सम्बन्धी विश्व सम्मेलनमा सम्बोधन गर्दै

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड पुगेका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो शहरमामा शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ग्लास्गो पुगेका हुन् ।

स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा नेपालले पर्वतीय राष्ट्रहरूको समस्या पहिचान र सम्बोधन, जलवायु वित्तको प्रभावकारी कार्यान्वयन, पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न आवश्यक पर्ने प्रयास तथा जलवायु परिवर्तनका कारण हुने नोक्सानीलाई सम्बोधन गर्नेलगायत विषयमा कुरा राख्ने तयारी छ ।

साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् । भ्रमणका क्रममा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

Leave A Reply

Your email address will not be published.