प्रदेश एकका मुख्यमन्त्री आचार्यको विश्वासको मत प्रस्तावमा आज मत विभाजन हुँदै

0

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मत विभाजन हुँदै छ । दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको मत विभाजन हुने कार्यसूची रहेको छ ।

९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठबन्धनमा ५० सांसद रहेका छन् ।

अल्पमतमा रहेकाले आचार्य नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित जस्तै छ ।

विपक्षी गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कुनै पक्षमा देखिएका छैनन् ।

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएपछि सोमबार मत विभाजन हुन लागेको हो ।

विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । विपक्षीले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.