नेपालमा वैदेशिक लगानी भित्र्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आग्रह

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संगठन यूके शाखाको आयोजनामा शनिबार भएको कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।

गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ । एनआरएन नेता तथा आगामी चुनावमा अध्यक्षका प्रत्यासी कूल आचार्यले प्रधानमन्त्रीलाई एनआरएनए मागबारे ध्यानाकर्षण गराएका थिए । एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगरले ज्ञापन प्रस्तुत गर्दै माग पुरा गर्न माग गरे ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डनमा रहेका प्रधानमन्त्री शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा सहभागी भएका छन् । रासस

Leave A Reply

Your email address will not be published.