६ महिनाभित्र सबै नेपालीलाई खोपको प्रबन्ध गर्न प्रधानमन्त्री देउवाको निर्देशन

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका हुन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत् प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

केन्द्रको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्थापन र संगठन संरचनासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न देशबाट खोप आउन लागेको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार चीनबाट थप ४० लाख भेरोसेल खोप ल्याउन तयारी भइरहेको छ ।

यस्तै, अरू देशबाट थप ४० लाख मोर्डना तथा ४७ लाख फाइजर खोप आउने पाइपलाइनमा रहेको उक्त बैठकमा मन्त्रालयले जनाएको थियो । माल्दिभसबाट पनि दुई लाख डोज कोभिडविरुद्धको खोप ल्याउने तयारी भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.