एनआरएनमा वर्तमान नेतृत्वले नै संस्थाभित्र राजनीति घुसाए

0

काठमाडौँ — गैर आवासीय नेपाली संघमा कुनै दलले नभई वर्तमान नेतृत्वले नै संस्थाभित्र राजनीति घुसाएको एनआरएन सम्बद्ध अभियन्ताहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको भर्चुअल बहस कार्यक्रममा स्वतन्त्र संस्था हुँदाहुँदै पनि एनआरएन नेतृत्वले नै राजनीति गरेको टिप्पणी गर्दै नेपालका राजनीतिक दललाई मात्रै आरोप लगाएर उम्कन नमिल्ने बताए ।

कार्यक्रममा एनआरन अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डितले एनआरएन आफैले विवाद समाधान गर्न नसकेकाले परराष्ट्र मन्त्रालयसम्म  जानुलाई राजनीति भन्न नमिल्ने बताए । निश्चित राजनीतिभन्दा अरुलाई एनआरएनभित्र पस्न नदिने अभिप्रायले अहिले निषेधको राजनीति भै रहेको उनले बताए ।

‘संस्थामा फरक विचार आउनुपर्छ, छलफल हुनुपर्छ । विधान कसरी राम्रो गराउने भन्ने विषयमा छलफल हुनुपर्छ,’ उनले भने, ‘प्रक्रियागत रुपमा संस्था चलाउन नसक्दा समस्या भएको हो । नेतृत्वमा जवाफदेहीता छैन ।’ डा. पण्डितले अघिल्लो पटकको एनआरएन चुनावमा वडाध्यक्षलेसमेत भोट हालेको भन्ने आरोप अझै बाँकी रहेको बताए । ‘वडाध्यक्षलाई कसले पठाएको हो एमालेले? सदस्य बनाएको कसले नेतृत्वले होइन? अनि पार्टीहरुलाई दोष लगाउने? छानबिन हुन नपर्ने ?’ प्रश्न गरे ।

त्यसैगरी एनआरएनका शनि कुमार  वलीले पनि  नेपालका दलहरुलाई दोष दिएर एनआरएनका वर्तमान नेतृत्व उम्कन नपाउने बताए । परराष्ट्र मन्त्रालयमा निवेदन दिनुलाई राजनीति भन्न नहुने भन्दै उनले प्रश्न गरे, ‘ तालुकवाला मन्त्रालय भएकाले परराष्ट्रमा दर्ता गरेको हो।  परराष्ट्र नगएर गृहमा जानु त?’

वर्तमान नेतृत्वले आफू सम्बद्ध साथीहरु मात्रै नेतृत्वमा  ल्याउन खोज्नु नै राजनीति भएको उनले बताए । ‘ यस अघि कुमार पन्तजीलाई जिताउन सुवास नेम्वाङको संयोजकत्वका तीन सदस्यीय कार्यदल बनेको थियो । हामी इमान्दारिपूर्वक बहस गरौं,’ वलीले भने, ‘अस्ति मात्रै बद्रीजी नेपाल आएर सबै नेताको दैलो चहारेको फेसबुकमा लेख्नुभएको होइन? एनआरएनका प्रतिनिधि कुल आचार्य नेतृत्वमा उठ्नु गलत हो ?’ माओवादी कांग्रेसले सत्ता गठबन्धन अनुसार सहयोग गर्नु भन्नु गलत हो ?’

दलहरुले एनआरएनका प्रतिनिधिलाई सहयोग गर्नु गलत नभएको उनको तर्क छ । ‘गगन थापालाई एनआरएन अध्यक्ष उठाउन खोजेको हो र ? सिन्डिकेट लाद्न खोजिएको छ, त्यो नै राजनीति हो । निश्चित मान्छेले चुनाव जित्नुपर्छ भन्ने राजनीतिक विकृति होइन?’ वलीले प्रश्न गरे ।

आफूले नेतृत्व कब्जा गरेर राजनीति गर्ने, अनि नेपालका दललाई दोष लगाउन नहुने वलीको तर्क छ ।  संस्थापन पक्षले विभिन्न मुलुकमा आफ्नो अनुकुल प्रतिनिधि छनोट गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

वलीले विधि र विधान मिचिएकोप्रति पनि आक्रोस व्यक्त गरे । ‘संस्था राम्रो बनाऊँ । सबैको अपनत्व हुने खालको बनाऊँ । निश्चित व्यक्तिले चुनाव जित्ने आधारमा विधानको धज्जी नउडाऔं,’ वलीले भने, ‘जो विधान बनाइएको छ, त्यसमा टेकेर काम गरौं । कतिपयमा नयाँ समितिले पठाएको, कतिपयले पुरानो समितिले पठाएको प्रतिनिधिलाई स्विकृत गर्ने? संस्थामा अपनत्व हुँदैन ?’

उनले एनआरएनलाई कसैको खल्तीमा लैजान खोजिएको टिप्पणी पनि गरे ।   संस्थाभित्र आइएलओ लगायतका  अनियमितताको प्रश्न उठेको उनले बताए । एनआरएनभित्र उठेका प्रश्नलाई स्वच्छ ढंगले छानबिन गर्न सक्नुपर्नेमा उनले  जोड दिए । ‘गम्भीरतापूर्वक छलफल गरौं । संस्थाभित्र अपनत्व सबैको हुनुपर्छ’, उनले भने ।



‘निर्वाचित हुनेहरुले  राजनीति गर्नु हुन्न’

त्यसैगरी डा.पण्डितले एनआरएनमा राजनीति गर्न नहुने बताए । ‘एनआरएनमा  निर्वाचित हुनेहरुले  राजनीति गर्नु हुन्न । वैचारिक, आर्थिक रुपमा विभेद गर्नु हुँदैन । वैचारिक वा अन्य किसिमले संस्थामा राजनीति गर्नु हुँदैन’, उनले भने, ‘अन्य स्वार्थको कुरालाई पनि बाहिर राख्नुपर्छ । नेतृत्वमा पुगेका व्यक्तिले राजनीति गरेका कारण संस्थामा विवाद आएको हो ।’

नेतृत्वकर्ताले गलत, वैचारिक, प्रदुषित खालको राजनीति पदमा बसुन्जेल गर्नु नहुनेमा जोड दिए । विधि र पद्धतिको आधारमा एनआरएन सञ्चालन गर्नुपर्ने डा. पण्डितले बताए ।

तल्लो कमिटीहरुलाई हस्तक्षेप नगर्ने, डेलिगेट्सको विवाद भनिए पनि समस्या नभएको उनले बताए । एनआरएन भित्रको समस्या समाधान गर्नमा सबैले ध्यान दिए धेरै समय नलाग्ने उनी बताउँछन् । ‘नेतृत्वको बोली, व्यवहार पादरर्शी हुनुपर्छ । बाहिरका व्यक्तिलाई दोष दिनु हुँदैन । नीतिगत निर्णय गर्दासाथ समस्याको समाधान हुन्छ ।’

डा. पण्डितका अनुसार संस्था स्थापनाको कालमा जसरी एनआरएन सोचिएको थियो । त्यसरी नै सबै गैर आवासीय नेपालीको संस्था बनाउने लक्ष्यमा अघि बढ्नु पर्छ । अब आउने नेतृत्वमा कसलाई ल्याउने भन्नेमा मात्रै टाउको दुखाइको विषय बनाउन नहुने उनको सुझाव छ । ‘भोलिन्टेयर पदमा बस्न इच्छुक हुनेले पाउँछन् । कसैले वर्तमान नेतृत्वप्रति प्रश्न उठाएमा राजनीति गर्यो भनिएको छ । पदमा भएका व्यक्ति जवाफदेही हुनुपर्छ’ उनले भने ।

त्यसैगरी प्रवासी नेपाली मन्च, अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङले जुन उद्देश्यले एनआरएन बनाइएको थियो, त्यो भन्दा गलत ढंगले अघि बढेको  आरोप लगाए। ‘हामीले जुन खालको एनआरएन बनाउन खोजेका छौं । गैर राजनीतिमूलक, स्वतन्त्र संस्था भनेर विधानमै लेखिएको छ । गैर आवासीय नेपालीको वर्गभित्र पर्नेहरु र सदस्य बन्नेले त्यसमा लेखिएको मान्नुपर्छ’ उनले भने, ‘एनआरएन बिगारेका नेपालका नेताले होइन, संस्थाभित्रकै नेताहरुले हो । गैर नाफामूलक, स्वतन्त्र खालको सबै खालको वैचारिक व्यक्ति अट्न सक्ने चिन्तनको चौतारी बनाउनु यसको मूल उद्देश्य हो ।’

नेपाल पत्रकार महासंघ युरोप शाखाकी  अध्यक्ष सरस्वती कार्कीले उक्त  कार्यक्रम सञ्चालन गरेकी थिइन । 

Leave A Reply

Your email address will not be published.