देउवालाई ओलीको सन्देश : दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी असंवैधानिक

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले नै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण तरिकाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिको रुपमा बालकोटस्थित निवासमा भेटन पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी फुटाउने अध्यादेश जारी गर्ने र त्यसलाई फिर्ता गर्ने प्रक्रिया बदनियतपूर्ण रहेको जानकारी गराएका हुन् ।

चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दल विरुद्धको षडयन्त्र र संविधान विपरीतको भन्ने कुरामा नेकपा एमाले स्पष्ट रहेको समेत ओलीले कार्कीलाई बताएका छन् ।

अध्यक्ष ओलीले कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को भएको उल्लेख गर्दै संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुने कुरा आपत्तिजनक भएको समेत बताएका छन् ।

प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा पुगेका मन्त्री कार्कीले भने सरकार प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर काम गर्न इच्छुक रहेको भन्दै संसदमा रहेको अवरोध हटाउन आग्रह गरेका छन् ।

यसअघि पनि कार्कीले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा प्रतिपक्षी दलका अध्यक्ष केपी ओलीसँग पटक पटक भेट गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.