प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

0

काठमाडौं : प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठक विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण गरेर संसदमा पठाएको विनियोजन विधेयक २०७८ पढेर सुनाए । त्यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे बैठकलाई जानकारी गराए ।

सभामुख सापकोटाले संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गरे । सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई सभामुख सापकोटाले एमालेले संसदमा उठाएको विषय अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै ती मुद्दाहरुमा प्रतिकूल हुने गरी संघीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराए ।

उनले अति आवश्यक विधेयकहरु पारित गरेर जानुपर्ने भएकाले पनि संसद बैठक अवरुद्ध पारिरहन नमिल्नेतर्फ पनि बताए । भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.