तालिबानले हत्या गरी चार जनाको शव सार्वजनिक स्थानमा झुण्ड्यायो

0

एजेन्सी : अफगानिस्तानमा तालिबानले चार जनाको हत्या गरेर उनीहरूको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ । अपहरणमा संलग्न भएको आरोप लगाउँदै तालिबानले हेरात सहरमा चार जनाको हत्या गरेर शव झुण्ड्याएको हो । पश्चिमी अफगानिस्तानको हेरात शहरको चारवटा चोकमा चार व्यक्तिको शव झुन्डाइएको अवस्थामा भेटिएका हुन् ।

तालिबानले ती चार व्यक्तिलाई अपहरणको आरोपमा गिरफ्तार गरेको थियो । एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका चार जनाको गोली हानी हत्या गरेर हेरातका विभिन्न स्थानमा झुण्ड्याइएको हो ।

उनीहरूलाई शुरुमा गोली हानेर मारेपछि अलग–अलग चोकमा झुन्डाइएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले घटनाको बारेमा अहिलेसम्म आधिकारिक रूपमा केही बताएको छैन ।

तालिबानी नेता मुल्लाह नुरुद्धिन तुरावीले एक दिनअघि सार्वजनिक रुपमै शरीरको अंग काट्ने जस्ता सजाय दिनसक्ने बताएका थिए । कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो ।

Leave A Reply

Your email address will not be published.