अफगानिस्तानमा कठोर सजायहरु पुनः शुरु हुने तालिबानको चेतावनी

0

एजेन्सी : अफगानिस्तानमा तालिबानले कठोर सजायलाई पुनः शुरु गर्ने तयारी थालेको छ । तालिबानका कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका हुन् ।

तालिबानको धार्मिक प्रहरीका पूर्वप्रमुख समेत रहेका उनले अङ्ग काट्नेसम्बन्धी सजाय सुरक्षाका लागि आवश्यक भएको बताएका हुन् । तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनको भनाइ छ ।

सार्वजनिक स्थलमा सजायहरू दिने वा नदिने विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको र त्यसबारे नीति बनाइने उनको भनाइ छ । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए ।

विगतमा सार्वजनिक स्थलहरूमा दिने गरिएका मृत्युदण्डको आलोचना भएको कुरामा समेत तुराबी आपत्ति जनाएका छन् । तालिबानको कानून कस्तो हुनुपर्छ भन्नेबारे अरूले भन्नु नपर्ने उनको भनाइ छ ।

अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएका छन् । तर देशभरि मानव अधिकार उल्लंघन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आएका छन ।

Leave A Reply

Your email address will not be published.