ललितानिवास प्रकरणमा जोडेर राजनीति सिध्याउन खोजियो : गच्छदार 

0

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बालुवाटार ललितानिवास जग्गा प्रकरणमा तानेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।


नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गच्छेदारले पार्टीको १४ औं महाधिवेशनको मुखमा बुधबार पत्रकार सम्मेलन गर्दै आफूसँग सम्बन्धित नहुँदानहुँदै पनि ललितानिवास जग्गा प्रकरणमा जबरजस्ती तानिएको जिकीर गरेका हुन् ।


पत्रकारहरुसँग गच्छेदारले भने, ‘करिब डेढ वर्षको मौनतापछि तपाईंहरुसामु उभिएको छु । मेरो आधा शताब्दी लामो राजनीतिक करियरमा आक्रमण गरी ध्वस्त पार्ने प्रयास भयो । ललिता निवास प्रकरणमा तानेर मेरो राजनीति समाप्त पार्ने प्रयास भयो ।’


अख्तियारले गैरकानुनी रुपमा मुद्दा लगाएको भन्दै उनले भने, ‘अख्तियारले गैरकानुनीरुपमा मलाई मुद्दा चलाएको छ । जीवनभर स्वतन्त्रताका लागि लडेको ममाथि झुठा मुद्दा लगाएर राजनीति ध्वस्त पार्ने काममा अख्तियार नै लाग्यो ।’
आफूले प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन मात्र पालना गरेको जिकीर गर्दै गच्छेदारले भने, ‘प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएअनुसार सचिवले ल्याएको प्रस्तावलाई मन्त्रिपरिषदमा लगेको र त्यहाँबाट निर्णय गरिएकामा ममाथि व्यक्तिगत रुपमा मुद्दा लगाउनु प्रतिशोध हो ।’

संवैधानिक आयोग नै प्रतिशोधमा उत्रिएको भन्दै उनले अख्तियारले शीर निहुर्‍याएर मुद्दा सर्वोच्च लगेको पनि बताए । अख्तियारले बालुवाटार प्रकरणमा लगाएको मुद्दा राजनीतिक प्रतिशोधको औजार बनेको दाबी गरे ।
आफू अदालतमा हाजिर हुन चाहँदा पनि विभिन्न कारणले सम्भव नभएको तर शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै विशेष अदालतमा हाजिर भएको भन्ने आरोप मिथ्या भएको पनि उल्लेख गरेका थिए ।

Leave A Reply

Your email address will not be published.