सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु

0

काठमाडौं : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ । पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

सोह्र श्राद्धमा अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भन्ने गरिएको हो ।

नेपालीले बडा दशैँ मनाउनुअघि पितृलाई तृप्ति गर्ने परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको मान्यता छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडा दशैँ शुरु हुन्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । सोह्र श्राद्धमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ ।

यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण स्वास्थ्य मापदण्ड अपनाएर कर्म गर्न स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.