कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन सशस्त्र प्रहरी जवान घाइते

0

काठमाडौं : कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ दोधाराचाँदनी नगरपालिका ८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान सामान्य घाइते भएका हुन् ।

घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जानकारी दिएको छ ।

नेपालतर्फ सामान तस्करी गरिरहेको समूहले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा गरेको हो ।

आक्रमणपछि तस्कर समूह भारततर्फ भागेको प्रहरीले जनाएको छ । तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.