शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

बुधबार ललितपुरमा नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको र विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताएका हुन् । विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारी रहेतापनि संघीय सरकारले स्रोत साधान र कार्यक्रम सहित बिद्यालय शिक्षाको विकासमा सहयोग गरिरहेको उनले बताए ।

उनले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा लाग्न आग्रह पनि गरे । उनले भूकम्पपछि क्षतिग्रस्त भएका अधिकांश विद्यालय पुनर्निर्माण भइसकेको भन्दै बाँकी बिद्यालय पनि छिटै पुनर्निर्माण हुने बताए । विद्यालयहरुको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको भन्दै पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए ।

जापानको ऋण सहयोगमा रु १२ करोड तीन लाखको लागतमा सो विद्यालय निर्माण गरेको हो । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म ६ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.