एमालेसँग संवाद गरेर बैठक राख्न सभामुखलाई दलहरुको सुझाव

0

काठमाडौं : विभिन्न दलका नेताहरुले प्रतिपक्षीलाई संवादमार्फत नै सहमतिमा ल्याई संसद सञ्चालन गर्न सभामुख अग्नी सापकोटालाई सुझाव दिएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सर्वदलीय बैठकमा दलका नेताहरुले एमालेसहितको अर्को बैठक राखेर मतभेद अन्त्य गर्दै संसद सञ्चालन गर्न सभामुख सापकोटालाई सुझाव दिएका हुन् । संसदमा देखिएको गतिरोध अन्यका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका थियो भने एमालेले बैठक बहिष्कार गरेको थियो ।

एमालेले नै संसद अवरुद्ध गरेको र सर्वदलीय बैठकमा पनि सहभागी नभएकाले कुनै ठोस् निष्कर्ष निस्कन नसकेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन् ।

उनले एमालेसहित पुनः बैठक राखेर सहमति खोज्न सुझाव दिएको बताइन् । बैठकमा संसदमा जारी अवरोध खुलाउनका लागि अधिकतम पहल गर्ने सभामुखले बताएको पौडेलले जानकारी दिइन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा एमाले सहभागी नभएका कारण बिना निष्कर्ष बैठक टुंगिएको जानकारी दिए । एमालेसँग फेरि पनि संवादको प्रयास गर्नुपर्ने सुझाव रहेको उनको भनाइ छ ।

सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षि एमालेले संघीय संसदको अधिवेशन शुरु भएदेखि दुवै सदनमा अवरोध गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.