तालिबानद्वारा शिक्षामा नयाँ नियमको घोषणा, महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने

0

एजेन्सी : अफगानिस्तानमा तालिबान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । विश्वविद्यालयहरुमा छात्र र छात्राले सँगसँगै बसेर पढ्न नपाउने नियम लागू गरिएको हो ।

नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने बताएका हुन् ।

उनले विश्वविद्यालयमा पढाई हुने विषयको समीक्षा गरिने पनि घोषणा गरे । साथै अफगानिस्तानका विश्वविद्यालयहरुमा पनि छुट्टै पोशाकको व्यवस्था गरिएको छ ।

नयाँ नीति अफगानिस्तानमा तालिबानले कब्जा गर्नु पहिले भन्दा निकै भिन्न छ । यसअघि अफगानिस्तानमा पुरुष र महिला एक साथ अध्ययन गर्दै आएका थिए । छात्रारूलाई छुट्टै पोशाकको नियम अनिवार्य थिएन । तर ती नियमहरू भंग गर्दै तालिबान शासनले नयाँ नीति लिएको छ ।

देशका बासिन्दा मुस्लिम भएका कारण यो नियम लागू गर्न कसैले असहज नमान्ने पनि मन्त्री हक्कानीले दाबी गरेका छन् ।

सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।

पछिल्लो समय तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हालमा लिएको थियो ।

Leave A Reply

Your email address will not be published.