माधव नेपालको प्युसो पार्टीले एमालेसँग लड्न सक्दैन : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली कांग्रेससमेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसो पार्टीले एमालेसँग लड्न देखेको सपना सपनामै सीमित हुने बताए ।

पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताए । अध्यक्ष ओलीले विपक्षीहरूले एमालेलाई एक्लै हेर्नसमेत नसक्ने जिकिर गरे ।

अध्यक्ष ओलीले दिनमा १० वटा भारतीय हेलिकप्टर नेपाली आकाशमा आएर तमासा देखाउँदा समेत सरकार मूकदर्शक बनेको बताए । उनले जयसिंह धामी तुइनका लठ्ठा काटेर नदीमा बगाउँदासमेत सरकार रमिते बनेको टिप्पणी गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफुले विघटन गरेको दाबी गरे । ओलीले अदालतले पनि कांग्रेसले प्रतिनिधिसभा विघटन गर्दा सदर गर्ने र एमालेले विघटन गर्दा बदर गर्ने गरेको बताए ।

ओलीले पुष्पकमल दाहाल र माधव नेपालले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाएर पार्टी कब्जा गर्ने प्रयास गरेको बताए । उनले आफु प्रधानमन्त्री भए देखिनै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालले पार्टीमा कब्जा जमाउने योजना बनाएको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.