गोरखा दरबारको मर्मत सकियो

0

गोरखाबजार, ७ भदौ । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ । रक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो ।
भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको मन्दिर, गोरखा दरबार, पर्खाल मर्मत गरेपछि नियमित पूजाका लागि खुल्ला गरिएको दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिनुभयो ।
“पुरातत्व विभागले पठाएको रु २५ लाखले पहिलो चरणको मर्मत गरियो” भट्टराईले भन्नुभयो, “गोरखकाली मन्दिरमा बलि पूजा र गोरखनाथ मन्दिरमा पूजाआजाका लागि खुल्ला गरिएको हो ।” भूकम्पले गोरखा दरबारको झिँगटी, पर्खाल, टुँडाल, गोरखनाथ गुफा मन्दिरका साथै रोट पोल्ने ठाउँ, पशुपति, गुहृेश्वरीको मन्दिरमा क्षति पुगेको थियो ।
“दरबार क्षेत्र मर्मतका लागि करोडौँ बजेट आवश्यक पर्छ” भट्टराईले भन्नुभयो, “गोरखा दरबारको आँगन करिब तीन इन्च तल धसिएको छ ।” दरबार क्षेत्रभित्र रहेको चौघेरा मन्दिरको मर्मत गरिएको छैन । साथै चौघेरा दरबार नजिकै रहेको गणेशको मन्दिर पनि पुनःनिर्माण गर्न बाँकी रहेको भट्टराईले बताउनुभयो । कालीकाको मन्दिरमा दिनहुँ ३०० भन्दा बढी भक्तजन पूजाआजाका लागि आउने गर्छन् । प्रत्येक अष्टमीमा भक्तजनको भीड लाग्ने गोरखकाली मन्दिरमा केही वर्षअघिदेखि दिनहुँजसो बलि पूजा हुन्छ ।

Leave A Reply

Your email address will not be published.