संविधानको विधेयकमाथि बुधबारदेखि छलफल

0

काठमाडौं, ७ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ संविधानसभामा पेश भएको छ। राप्रपा नेपालका सभासदको चर्को नारावाजी र मधेसवादी दलका सभासदको विरोधकाबीच संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले परिमार्जित विधेयक संविधानसभाको बैठकमा पेश गरेका हुन्। सभासदहरुले संविधानको विधेयक पाएका छन् । आइतबार साँझ बसेको बैठकमा मस्यौदा समितिका सभापति सिटौलाले संविधानको विधेयक टेबल गरेपछि सभासदहरुका लागि उपलब्ध भएको हो ।
उनले पेश गरेको विधेयकमाथि बुधबारदेखि छलफल हुने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जानकारी गराए। संविधानसभामा विधेयक पेस भएपछि सभासद्लाई अध्ययनका लागि तीन दिन समय दिनुपर्ने व्यवस्था नियमावलीमा छ। यसबीचमा संसद्बाट बजेट पारित गराएर संविधानमा केन्द्रित हुने गरी सभाध्यक्ष सुवास नेम्बाङले दलहरुलाई निर्देशन दिएका छन्।
संविधान मस्यौदा समितिले संविधानसभामा पेश गरेको संविधानको विधेयकको पहिलो मस्यौदा उपर जनताको राय सुझाव संकलन गर्ने कार्य सम्पन्न भएपछि संविधानसभाले साउन २७ गते संविधानको परिमार्जित मस्यौदा तयार पार्न बढीमा ५ दिनको समय दिँदै निर्देशन दिएको थियो। तर ५ दिनमा संविधानको मस्यौदा तयार नभएपछि थप ४ दिनको सयम उपलब्ध गराइएको थियो।

Leave A Reply

Your email address will not be published.