छानविन समितिको निष्कर्ष : दार्चुला घटनामा भारतीय एसएसबीको संलग्नता

0

काठमाडौं : दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर नेपाली नागरिक बेपत्ता भएको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।

महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानविन समितिले सो निष्कर्ष निकालेको हो ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको गठित छानविन समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

 घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’ 

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । सरकारले यस विषयमा छानविन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

यसैबीच गृहमन्त्री खाँणले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.