काबुलमा अमेरिकाले फेरि गर्‍यो ड्रोन आक्रमण

0

एजेन्सी : काबुल विमानस्थलमा आक्रमणको तयारी गरिरहेको एक सवारी साधनमा अमेरिकाले ड्रोन आक्रमण गरेको छ । विमानस्थल नजिकै इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट के सम्बद्ध एउटा सवारी साधनमाथि अमेरिकी सेनाले आक्रमण गरेको हो ।

ड्रोन आक्रमणपछि काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको थियो । आक्रमणमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

केही समयअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुनः हमला हुन सक्ने चेतावनी दिएका थिए । विमानस्थलमा आक्रमण गर्ने लक्ष्य राखेको आत्मघाती बमधारी विरुद्ध ड्रोन आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ ।

सेनाले ड्रोन आक्रमणले विमानस्थलमाथि रहेको खतरा समाप्त पारेको जनाएको छ । पछिल्लो आक्रमण काबुल विमास्थलमा आक्रमण गर्नेहरुविरुद्ध लक्षित रहेको अमेरिकी सेनाले स्पष्ट पारेको छ ।

काबुल विमानस्थलमा अमेरिकी सैनिकहरूमाथि आक्रमण गर्नेहरू विरुद्ध जुनसुकै हतियार र सार्मथ्य लगाएर भएपनि नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति बाइडेनले निर्देशन दिएका थिए ।

गत बिहीबार इस्लामिक स्टेट के ले गरेको आक्रमणमा १३ अमेरिकी सैनिक सहित १ सय ७० भन्दा बढीको मृत्यु भएको थियो । सो आक्रमणको विरुद्धमा अमेरिकी सेनाले पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । आक्रमणमा आईएसकेका दुई जना सदस्य मारिएको बताएको थियो ।

अमेरिकाले पछिल्लो समय आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ । बेलायतले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ ।

Leave A Reply

Your email address will not be published.