अफगानिस्तानबाट थप पाँच लाख मानिस विस्थापित हुने अनुमान

0

एजेन्सी : यो वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट थप पाँच लाख मानिस विस्थापित हुने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ ।

तालिबान समूहले राजधानी काबुलसहित करिब सबै प्रान्त कब्जा गरेपछि डिसेम्बरसम्ममा थप पाँच लाख मानिसले मुलुक छाड्ने अनुमान गरिएको हो ।

राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकायकी उप उच्चायुक्त केली क्लेमेन्ट्सले विस्थापित हुने सम्भावित शरणार्थीहरुलाई व्यवस्थापन गर्न तयारी भैरहेको जानकारी दिएकी छन् ।

तालिबानको अतिवादी क्रियाकलापका कारण अफगानसँगै विदेशी नागरिक अफगानिस्तानका प्रमुख सहरबाट बाहिरिने क्रम जारी छ । तालिबानले गर्नसक्ने कठोर शासनको भयले पनि धेरैले मुलुक छाडेका छन् ।

तालिबान समूहले भने सबै स्वदेशी तथा विदेशी अधिकारीलाई आफ्नो कारणले देश छोड्नु नपर्ने जनाउँदै आएको छ ।

यसैबीच तालिबानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिले सबै महिला कर्मचारीलाई केन्द्र तथा प्रान्तमा नियमित रूपमा आफ्नो काममा फर्किन आग्रह गरेका हुन् ।

काबुलस्थित विमानस्थलनजिक बिहीबार भएको बम आक्रमणपछि त्यहाँ स्वास्थ्य उपचार सुविधाको अभाव भएको छ ।

Leave A Reply

Your email address will not be published.