यस वर्ष मनसुनी वर्षासँगै ६० जिल्लामा बाढीपहिरो, प्राकृतिक घटनामा परी ११४ को मृत्यु

0

काठमाडौं : मनसुन शुरु भएयता ६० जिल्लामा पाँच हजार १ सय १८ जना बासिन्दा विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

नेपालमा यो वर्षको मनसुन भित्रिएपछि विभिन्न ६० जिल्लामा बाढीपहिरोलगयतले क्षति गरेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको हो ।

यो वर्ष मनसुनका कारण हालसम्म ४ सय ५१ वटा विपदका घटना भएका छन् । बाढीका ८२ घटनामा परेर २९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । बाढीमै परेर आठ जना घाइते भएका छन् ।

देशभर विभिन्न स्थानमा गएको १ सय ८९ पहिरोमा परी ४० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । सोही अवधिमा पहिरोमा परेर ५८ जना घाइते भएका छन् ।

भारी वर्षाका १ सय ८२ घटनाको विवरण प्राधिकरणले राखेको छ । वर्षाकै कारण पाँच जनाको मृत्यु र २५ जना घाइते भएको बताएको छ । यस अवधिमा चट्याङ लागेर २० जनाको मृत्यु भएको छ ।

विपदबाट ७ सय १३ वटा निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सडक तथा नदी मार्गमा बनेका २९ वटा झोलुङ्गे पुल र २७ वटा पक्की पुल बाढीले क्षतिग्रस्त बनाएको छ भने बाढीले २५ वटा हाइड्रो पावरमा क्षति पुर्‍याएको छ ।

सिन्धुपाल्चोकमा लेदोसहितको बाढी, मनाङमा पहिरो तथा बाढी, बाजुरामा पहिरो र गोर्खा एवं लमजुङमा ठुलो क्षति भएको छ ।

Leave A Reply

Your email address will not be published.