काठमाडौं, भदौ ६ । भन्सार छली ल्याएको करिव ४६ लाख ३६ हजार ३ सय ५२ रुपैयाँ बराबरको सुनसहित १२ जना पक्राउ परेका छन् । ११ वटा टुक्रा तथा ७ वटा चुरा गरी एक किलो ४८ ग्राम सुनसहित त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले शनिबार राति १२ जनालाई पक्राउ गरेको हो ।
फ्लाई दुबइको उडान नम्बर ५७३ द्वारा दुबइबाट काठमाडौं आएका सप्तरी बराह–७ नेगाडागाका संजयदेव यादव, सिन्धुपाल्चोक केउरेनी–९ दुवाचौरका रमेश गिरी, इलाम पन्चकन्या–४ का गोपालप्रसाद निरौला, सर्लाही मुर्तिया–३ का गोबिन्दप्रसाद घिमिरे, काठमाडौं वटुटोलका बिजेश शाक्य, दोलखा ध्यावापानीका प्रकाश घतानी, सल्यान जिउला–३ का प्रविन बस्नेत, सिन्धुपाल्चोक प्रभात बस्तीका युद्ध खड्का, तनहुँ गल्बुबेुसी १ का सुजित पौडेल, रुपन्देही शिवनगर–९ का बिक्रम नेपाल, ललितपुर गोटिखेल–४ का दिनेश घले, ललितपुर धौगलका समिर महर्जनलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन भन्सार चेकजाँच पश्चात प्रिपेड ट्याक्सी काउन्टर अगाडि प्रहरीले चेकजाँच गर्दा उक्त परिणामको चुरा र सुनको टुक्राहरु बरामद भएको जनाइएको छ । बरामद सुनसहित उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि भन्सार कार्यालय सिनामंगल पठाइएको प्रहरीले जनाएको छ ।