एमालेले बोलायो स्थायी कमिटी बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

0

काठमाडौं : नेकपा एमालेले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । 

सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेका नेता र तेस्रो धारमा उभिएका नेताहरुबीचको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गर्दै स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको हो ।

१० बुँदे सहमति कार्यान्वयनलाई अघि बढाउने निर्णय बैठकले गरेको र यस विषयमा थप छलफल गर्न मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले पार्टीलाई थप एकतावद्ध रुपमा अघि बढाउन स्थायी कमिटी बैठकमा तेश्रो धारका नेताहरु पनि सहभागी हुने जानकारी गराए । माधव नेपाल पक्षको अर्कै पार्टी दर्ता गर्ने प्रक्रियामा रहेकाले अब अन्य नेताहरुलाई एमालेमा नै आउन आह्वान गरिएको उनको भनाइ छ । स्थायी कमिटीले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

छलफलपछि एमाले एकताका लागि तेश्रो धारमा उभिएका नेता योगेश भट्टराईले पार्टीलाई समान व्यहार गर्ने र पुरानै जिम्मेवारी दिने तथा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गर्दै पार्टीलाई एकतावद्ध गर्ने विषयमा सहमति भएको बताए । स्थायी कमिटी मार्फत नै १० बुँदे सहमति कार्यान्वयनको बाटो तयर गर्ने र केन्द्रीय कमिटी बोलाउने सहमति पनि भएको उनले बताए ।

बैठकमा अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा उत्पन्न जटिलता, संविधानको अपव्याख्या गर्दै मुलुकलाई पश्चगमनतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका थिए । मुलुकलाई पश्चगमनबाट जोगाउनका लागि पनि एमाले एकतावद्ध हुनुपर्नेमा ओलीको जोड रहेको थियो ।

एमाले उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याभ भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगाएतका नेताहरु ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए । 

Leave A Reply

Your email address will not be published.