विदेशको सुखभन्दा स्वदेशको दुःख नै प्यारो

0

दाङ जिल्ला स्थायी घर भई नारायणथान बस्दै आउनुभएका विकास राना मगरले विदेशमा सिकेको सीपलाई उपयोग गर्दै नारायणथानको पाँच रोपनी खाली जग्गा भाडामा लिएर गोलभेँडाको प्राङ्गारिकखेती गर्दै आउनुभएको छ । तीन वर्षको विदेश बसाइँमा गरेको दुःखलाई सम्झँदै उहाँले नेपालमै आफ्नो काममा सन्तुष्ट लिने गरेको र विदेशमा जति दुःख गरे पनि सुखको अनुभूति नहुने स्वदेशमा दुःख गर्न परे पनि सुखको अनुभूति हुने र मेहनतको फल राम्रो हुने बताउनुभयो ।
सो खेतीबाट मासिक रु ४० हजारभन्दा बढी कमाइ भएको उहाँको खेतीमा श्रीमती राधाले सघाउँदै आएकी छिन् । चार वर्ष पहिले रानालाई विदेश पठाई राम्रो काम लगाई दिन्छु भनी नाताले दाइ पर्ने उमेश रानाले दुबई पठाउनुभएको थियो । उहाँले विदेशमा भनिएको काम र तलबसम्म नपाएपछि गोलभेँडाको प्राङ्गारिक खेतीमा काम गरेर तीन वर्षसम्म दुःख गर्नुभएको थियो । त्यही दुःखलाई सम्झेर रानाले अहिले स्वदेशमै प्राङ्गारिक खेती गर्नुभएको हो ।
विदेशमा दैनिक १२ घन्टा काम गर्दा बल्ल बल्ल मासिक रु २५ हजार मात्र कमाउने उहाँलाई आफ्नो घर परिवार चलाउनसमेत गाह्रो भएको थियो भने अहिले स्वदेशमै प्राङ्गारिकखेती गरेपछि आफ्ना घर परिवारसँगै बसी छ जनाको परिवार सजिलै पाल्दै आउनुभएको छ । यसैगरी विगत १० वर्षदेखि सडकपेटीमा मकै पोलेर आफ्नो गुजारा गर्दै आउनुभएकी धादिङ जिल्लाकी सीता सुनुवार बिहान ४ नबज्दै कालिमाटी तरकारी बजार पुग्नुहुन्छ ।
दैनिक १५० घोगा मकै लिएर स्वयम्भू चोकमा मकै बेच्न बस्नुहुन्छ केही घोगा मकै पोलेर बेच्नुहुन्छ भने केही काँचै बेच्नुहुन्छ । उहाँले सो मकै बेच्दा रु एक हजारसम्म आम्दानी गर्नुहुन्छ । उहाँ मकै बेच्नुहुन्छ, श्रीमान् ज्यालादारी काम गरी उनलाई सघाइरहेका छन् भने बालबच्चा स्कुल पढ्ने गर्छन् । उनीहरुलाई पढाइ लेखाइ गर्नका लागि दुवै जनाले दिनरात काम गरिरहेको उहाँले बताउनुभयो ।
उदयपुर जिल्ला घर भई कलङ्की चोकमा बस्दै आउनुभएकी राधादेवी कार्कीले भने नाङ्लो पसल राखी आफ्नो गुजारा चलाइरहनुभएको छ । पढाइ लेखाइ केही नभएकाले उहाँले आफ्नो जीविकोपार्जनका लागि नाङ्लोमा चाउचाउ, चुरोट, पराग आदि सामान राखी दिनभर टन्टलापुरको घाममा सडकको धुलो खाई बसिरहनुभएको हुन्छ ।
उहाँले दैनिक रु ५०० आम्दानी गर्नुहुन्छ भने उहाँको श्रीमान्ले पलम्वर काम गरी कमाएको केही रकमले दैनिक घरखर्च चलाइरहनुभएको छ । विदेशमा जस्तो पनि श्रम गर्न तयार रहने युवायुवती स्वदेशमा भने काम गर्न अल्छिपन देखाउँछन् । मकै पोलेर होस् वा ज्यामी, पलम्वर, नाङ्लो पसल राखेरसमेत आफ्नो जीविकोपार्जन गर्दै आएका कार्की, रानामगर र सुनुवारको कामलाई हामी सबैले सम्मान गर्नुपर्छ । मेहनत गरे फल मीठो हुने र स्वदेशमै आफ्नो कामप्रति सन्तुष्ट हुने हो भने बिदेशिने युवायुवतीको सङ्ख्या घट्ने छ ।

Leave A Reply

Your email address will not be published.