सीमांकनमा एमाओवादीको नयाँ प्रस्ताव

0

काठमाडौं, ६ भदौ । प्रमुख तीन दलको बैठकमा एकीकृत माओवादीले सात प्रदेशको सीमांकन परिमार्जन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेको छ । थारू र मगर समुदायको माग सम्बोधन गर्न सीमांकनमा हेरफेर गर्नुपर्ने एमाओवादी प्रस्ताव छ । प्रमुख तीन दलले असन्तुष्टि सम्बोधन गर्ने भन्दै ६ प्रदेशको सीमांकन हेरफेर गरेर शुक्रबार सात प्रदेश बनाउने सहमति गरेका थिए ।
तर, फोरम लोकतान्त्रिकको अस्वीकार तथा थारू, मधेसी र जनजातिले आन्दोलन जारी राखेपछि प्रमुख दलले शनिबार विभिन्न विकल्पमा छलफल गरेका छन् । स्रोतका अनुसार बालुवाटारमा शनिबार साँझ बसेको शीर्ष नेताको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले सात प्रदेशमध्ये ५ नम्बर प्रदेशको नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेका छन् । सो प्रदेशमा कैलाली र कञ्चनपुर पनि राख्नुपर्ने आफ्नो फरक मत भने कायमै रहने उनको भनाइ छ ।
‘यसो गर्दा थारू समुदायको आन्दोलनको सम्बोधन हुन्छ र विजय गच्छदारजी पनि सहमतिमा आउनुहुन्छ,’ तीन दलको बैठकमा प्रचण्डको प्रस्ताव उद्धृध गर्दै स्रोतले भन्यो । प्रचण्डले ५ नम्बर प्रदेशकै पाल्पा, अर्घाखाँची, प्युठान, गुल्मी, रोल्पा, रुकुम र बाग्लुङको आधा भाग पनि सात प्रदेशमध्येको ४ नम्बर प्रदेशमा समेट्नुपर्ने प्रस्ताव गरेका छन् । यसो गर्दा मगर बाहुल्य क्षेत्र एउटै प्रदेशमा रहने र मगरहरूको माग पनि सम्बोधन हुने उनको भनाइ रहेको स्रोतले बतायो । कांग्रेस र एमाले शीर्ष नेता थारू आन्दोलनलाई सम्बोधन गर्ने पक्षमा छन् ।
तर, प्रदेशको सीमांकन परिमार्जन गर्ने प्रचण्डको नयाँ प्रस्तावमाथि उनीहरूले सहमति जनाएका छैनन् । ‘कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली थारू आन्दोलनलाई सम्बोधन गर्नुपर्छ भन्नेमा हुनुहुन्छ,’ बैठक स्रोतले भन्यो, ‘तर, प्रचण्डको प्रस्तावमाथि सहमति जनाउनुभएको छैन ।’
प्रचण्डको प्रस्तावमा शनिबार विस्तृत छलफल भने भएको छैन । बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि बोलाइएको थियो । तर, उनी सहभागी नहुँदा विस्तृत छलफल नभएको बालुवाटार स्रोतले बतायो । प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले थारूलगायत आदिवासी जनजाति र मधेसी समुदायको माग सम्बोधन गर्न र फोरम लोकतान्त्रिकलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने विषयमा छलफल भएको जानकारी दिए ।
‘थारूलगायत जनजाति र मधेसी समुदायले उठाएका माग सम्बोधन गर्न बैठकमा विभिन्न मोडलमाथि छलफल भए,’ उनले भने, ‘आइतबार बिहान साढे आठ बजे विजयकुमार गच्छदारसहित बैठक बसेर थप छलफल गर्ने कुरा भएको समाचार आइतबारको नयाँ पत्रिकाले लेखेको छ ।

Leave A Reply

Your email address will not be published.